Bible

व्यवस्था 14

1 “तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका नानीहरू हौ। यदि तिमीहरूको आफन्तमा कसैको मृत्यु हुन्छ भने तिमीहरूको शरीरलाई नकाट अनि आफ्नो टाउकोको केश नखौर।

2 किन? किनभने तिमीहरू अरू मानिसहरूभन्दा भिन्दै हौ। तिमीहरू परमप्रभुको विशेष मानिसहरू हौ। परमप्रभु आफ्ना परमेश्वरले संसारका सबै मानिसहरूको माझबाट तिमीहरूलाई आफ्नो विशेष मानिस बनाउन रोज्नुभएको छ।

3 “परमप्रभुबाट घृणा गरिएका चीजहरू कुनै पनि नखाऊ।

4 तिमीहरूले यी पशुहरू खान सक्छौः गोरू-गाई, भेडा, बाख्रा,

5 मृग, हरिण, बराँट, जंगली बोका, पहाडी बोका, चित्तल र पहाडी भेडाहरू।

6 खुर दुई भागमा चिरिएको छ र उग्राउँछ भने त्यस्ता कुनै पनि पशु खानुहुन्छ।

7 तर ऊँठ, खरायो अथवा भीर खरायो आदि नखाऊ यद्यपि यी पशुहरू उग्राउँछन्, यिनीहरूको खुर दुई भागमा चिरिएको छैन। यसकारण यी पशुहरू शुद्ध तिमीहरूका लागि खानु होइनन्।

8 अनि तिमीहरूले सूंगुर खानु हुँदैन। तिनीहरूको खुरहरू त चिरिएका छन् तर तिनीहरू उग्राउँदैनन्। यसकारण सूंगुर तिमीहरूको निम्ति शुद्ध खाना होइन र यसको कुनै अंगको मासु नखानु। मरेको सूंगुर तिमीहरूले नछुनु।

9 “पानीमा भएका प्राणीहरूमा जसको पंखेटा र कत्ला हुन्छ त्यो खानु सक्छौ।

10 तर पानीमा हुने प्राणीहरूमा जसको पंखेटा अनि कत्ला हुँदैन त्यस्ता प्राणी तिमीहरूले खानु हुँदैन कारण त्यो तिमीहरूको निम्ति अशुद्ध खाद्य हो।

11 “तिमीहरूले कुनै पनि शुद्ध पंक्षी खान सक्छौ।

12 तर यी पंक्षीहरूमा कुनै पनि नखाऊ; गरूड, गिद्ध र कालो गिद्ध,

13 सबै प्रकारको रातो चील र कालो चील,

14 सबै प्रकारका काग

15 ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, समुद्र-हाँस, सबै प्रकारको बेसारा,

16 सानो लाटोकोसेरो, ठूलो लाटोकोसेरो, सेतो लाटोकोसेरो,

17 मरूभूमिको लाटोकोसेरो, माछा खाने गिद्ध, पानी-काग,

18 सारस, सबै प्रकारको बकुल्लो, फाप्रेचरो अथवा चमेरो।

19 “पंखेटा भएका कुनै किरा नखाऊ किनभने तिनीहरू अशुद्ध हुन्छन्।

20 तर तिमीहरू सबै शुद्ध चराहरू खानु सक्छौ।

21 “यदि कुनै पशु आफैं मरेको भए, त्यो तिमीहरूले खानु हुँदैन। त्यो मृत पशु तिमीहरूको शहरमा बस्ने कुनै विदेशीलाई देऊ, उसले त्यो खान सक्छ। अथवा तिमीहरूले त्यस मृत पशु विदेशीलाई बेच्न सक्छौ, तर तिमीहरूले खानु हुँदैन। किन? किनभने तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका विशेष मानिसहरू हौ।“बाख्राको पाठो त्यसकै माऊको दूधमा नपकाऊ।

22 “तिमीहरूले प्रत्येक वर्ष तिमीहरूको खेतको उब्जनीबाट दशांश जोगाई निर्धारित गरेर राख्नु पर्छ।

23 तब तिमीहरू परमप्रभुले आफ्नो स्थान भनी छानेको घरमा जानु पर्छ। तिमीहरूको त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसित भेट हुन जान्छौ। त्यस समय तिमीहरूले त्यो दशांश अन्न, नयाँ दाखरस तेल, आफ्नो गोठमा जन्मेको प्रथम भेडा-बाख्राको पाठो खानेछौ। यस प्रकारले तिमीहरूले सधैं परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्नेछौ।

24 तर त्यो निर्धारित ठाउँ टाढो भए तिमीहरू आफ्नो अन्नहरूको दशांश लिएर जानु नसक्ने पनि हुन सक्छौ। यस्तो भएको खण्डमा,

25 त्यो दशांश अन्न बेच र बेचेको दाम लिएर परमप्रभुले छान्नु भएको घरमा जाऊ।

26 तिमीहरूले जे रूचाउँछौ त्यही किन्न त्यो पैसा खर्च गरः जस्तै-गाई, भेडा, दाखरस अथवा कुनै अन्य सामग्री। तब तिमीहरू अनि तिम्रो परिवारहरूले खाएर अनि परमप्रभु तिमीहरूको परमेश्वरसित त्यस भूमिमा आनन्द मनाऊ।

27 तर तिमीहरूको शहरमा बस्ने लेवीहरूलाई नबिर्स। किन? किनभने तिमीहरूको झैं तिनीहरूको भूमि छैन।

28 “प्रत्येक तीन वर्षको अन्तमा तिमीहरूको अन्न उब्जनीबाट दशांश संग्रह गर्नु पर्छ। त्यसलाई आफ्नो शहरको भण्डारमा थुपार।

29 यो अन्न लेवीहरूको निम्ति हो कारण तिमीहरूको झैं तिनीहरूको आफ्नो भूमि छैन। यी अन्न शहरका अन्य अभाव ग्रस्त मानिसहरूको निम्ति पनि हो अनि यो विदेशीहरू, विधवाहरू र टुहुरा टुहुरी नानीहरूको निम्ति हो। यदि तिमीहरूले यसो गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।ऋण मुक्त हुने विशेष वर्ष

Deuteronomy 14 Verses

Nepali Bible